काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्टपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपथ लिएका हुन्। सोमबार प्रतिनिधीसभाबाट विश्वासको मत गुमाएपछि ओली पदमुक्त भएका थिए।
राष्टपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि आवहान भएको थियो । तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । बहुमतको सरकार गठन हुन नसकेपछि संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीसँगै अघिल्लो मन्त्रिपरिषदका सबै मन्त्रीहरुले सपथग्रहण गरेका छन्। उनीहरुलाई सम्हाली आएको मन्त्रालय नै जिम्मा दिइएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए।