काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन् । सरकारले संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश जारी गरेकाले आफू परिषदको बैठकमा नजाने उनले स्पष्ट पारेका हुन् । शनिवार विज्ञप्ती जारी गर्दै प्रमुख विपक्षी दलका नेता समेत रहेका देउवाले आफू बैठकमा नजाने भन्दै अरु सदस्याई समेत संवैधानिक परिषदमा सहभागी नहुन आग्रह गरेका छन्।
संविधानको भावना विपरित,संविधानको मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रीक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषदका अन्य सबै सदस्यहरुलाई समेत आवहान गर्दछु। विज्ञप्तीमा उनले भनेका छन् । कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको कामलाई सुरुदेखि नै अनुचित भन्दै आएको र विरोध गर्दै आएको पनि देउवाले बताएका छन् ।
वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गरी यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरी पटक–पटक संघीय संसदलाई छलेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेर अनुचित कार्य गरेको कांग्रेसको ठहर छ ।
यसअघि नै सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले बैठकमा सहभागी नहुने जनाइसकेको छ ।
प्रधानमन्त्री ओलीले बहुमतको आधारमा सिफारिसको निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएपछि विरोध हुँदै आएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।