बुटवल-लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुने भएको छ। यहाँ अन्य समूहका तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो।
२०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।
खड्का दल त्याग गर्दै नेकपा एमाले प्रवेश गरेका थिए। उनलाई माओवादी केन्द्रले कारवाही गरेपछि पद रिक्त भएको थियो।
जेठ १७ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ।
दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको तयारी रहेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार हुने सम्भावना छ। यो गठबन्धनले एमालेबाट प्रदेश सभा निर्वाचन जितेका पाण्डेलाई उमेदवार बनाउने सहमति गरेको हो। उनी एमाले छाडेर कांग्रेस प्रवेश गरेका छन्। एमालेले भने उमेदवार तय गरेको छैन।
यस्तै बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते उपनिर्वाचन हुँदैछ। गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट खिमलाल देवकोटा उम्मेदवार तय भइसकेका छन्।