काठमाडौं - नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुधबार संसद सचिवालयमा बुझाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डले लेखेको पत्र प्रमुख सचेतक देव गुरुङले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई बुझाएका हुन्।
पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको उल्लेख गरिएको छ।माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।