बुटवल । हिजो आइतबार लुम्बिनी प्रदेश सरकार गठनको विवादका बीच नेकपा एमालेबाट राजीनामा दिएका प्रदेश सांसद दृगनारायण पाण्डेय आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनलाई नेपाली कांग्रेसमा स्वागत गरिएको छ ।
आइतबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका पाण्डेयको आज विहानमात्रै प्रदेश सभा सचिवालयले राजीनामा स्वीकृत गरेको थियो ।
लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले नवप्रवेशी पाण्डेयलाई राष्ट्रिय सभाको उम्मेद्वारका रुपमा उठाउने निर्णय समेत गरेको छ । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले यस्तो निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमार्फत् पाण्डेयलाई खादा तथा दोसल्लाले स्वागत गर्दै नेपाली संसदीय दलका नेता विरेन्द्र कनौडियाले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदैछ ।
नेपाली कांग्रेसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ बाट उनले चुनाव जितेका थिए ।