बुटवल । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिपछि आज विपक्षी गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै नवगठित सरकार गैर संबैधानिक भएको बताएको छ । हिजो सोमबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार दाबी गर्दै साँझ पुनः मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका थिए ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले शंकर अल्पमतको सरकार गठन गरेर मुख्यमन्त्रीको रुपमा सपथ लिने शंकर पोखरेलको कदमलाई गैरसंवैधानिक र गैर लोकतान्त्रिक भनेका छन् ।
विपक्षी दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कुमार कनौडियाले भने–‘विहान राजीनामा दिएर उहाँले नयाँ सरकार गठनका लागि बाटो खोलिदिनुभयो भन्ने ठानेका थियौं । तर ग्रेट डिजाइन अनुसार संविधान वाइपास गरी पुनः मुख्यमन्त्री बन्ने उहाँको योजना रहेछ ।’
उनले शसस्त्र प्रहरी बल, जनपद प्रहरीलगायतका प्रहरी बल लगाएर अपहरण शैलीमा प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगी पोखरेलले सपथ ग्रहण गरेको आरोप लगाए । ‘यो कदमको जति नै भत्र्सना गरेपछि कम हुन्छ,’ उनले अगाडि थपे,‘नेपालको ईतिहासमा यो सरकारले कलंकको टिका लगाएको छ ।’
विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । ‘यो विषयलाई लिएर गठबन्धनमा रहेका पार्टीहरुको केन्द्रमा आज बैठक भइरहेको छ । यो सामान्य विषय होइन, प्रजातन्त्रको हत्या भएको छ,’ कनौडियाले भने ।
त्यस्तै गठबन्धनले हिजो साँझ सपथ रोक्न बिरोधमा उत्रेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग गरेको आरोप लगाउँैं उनको निलम्बनको माग गरेको छ । प्रहरी प्रमुख नै संलग्नतामा प्रहरी बल प्रयोग हुनु गैर लोकतान्त्रिक काम भएको भन्दै महिलालाई हातपात र दुव्र्यवाहर गर्ने प्रहरीलाई निरम्बन गर्नुपर्ने नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् ।