बुटवल- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति हुनु संविधानको ठाडो उल्लंघन र बल मिच्याइ भएको टिप्पणी गरेका छन्।
आइतबार विज्ञप्ती निकालेर देउवाले लुम्बिनी प्रदेशमा भएको घट्नाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरे। ‘संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’ विज्ञप्तीमा उनले भनेका छन्। एमालेले संसदमा प्रष्ट बहुमत गुमाएको बुझेर नै मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव छलेको देउवाको आरोप छ ।
अविश्वासको प्रस्ताव छलेका मुख्यमन्त्रीसँग पुन बहुमत छ भनेर मान्नु र पुन मुख्यमन्त्री नियुक्ती गरिनु कुनै कोणबाट तर्कसंगत नहुने देउवाले बताए। ‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’ उनले भनेका छन् ।
केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको भन्दै देउवाले बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।