बुटवल -मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा लगेर सपथ ग्रहण गरेका छन्। विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेपछि यादवलाई मुख्यमन्त्री कार्यालयमा लगिएको हो ।
अविश्वासको प्रस्ताव आएपछि आइतबार विहान राजिनामा दिएका मुख्यमन्त्री पोखरेल दिउसो पुन मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त भएलगत्तै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको हस्ताक्षर छ । उनीहरु सपथ ग्रहण रोक्न माग प्रदेश प्रमुख समक्ष माग गरेका थिए ।
पोखरेलको पक्षमा एकल बहुमत नरहेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा रहेका सासदहरूमाथि बल प्रयोग गर्दै उनले सपथ ग्रहण गरे। प्रदेश प्रमुख धर्मनाथ यादवलाई सेना र प्रहरी घेरामा मुख्यमन्त्री कार्यालय लगेर पोखरेलले सपथ लिए। सो क्रममा शान्तिपूर्ण धर्नामा बसेका सासदहरूमाथि लाठीचार्ज समेत भएको काग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले जानकारी दिए।