बुटवल । आजमात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनी प्रदेश सांसद बिमला ओलीले आफ्नो खुसीले दल परिवर्तन गरेको प्रतिक्रिया दिएकी छन् ।
बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा सांसदका रुपमा निर्वाचिन भएर आउँदा माओवादीले धेरै सहयोग गरेको हुनाले आफूले उक्त पार्टी रोजेको बताएकी हुन्।
‘त्यतीबेला मैले एमाले या माओवादी भनेर चिन्दिनथेँ । मलाई राजनीतिमा आउनुपर्छ भनेर साथ र सहयोग माओवादीका साथीहरुबाट नै पाएँ,’ उनले भनिन्,‘मैले आफ्नो चाहानाले नै माओवादी रोजेकी हुँ ।’
वलीले माओवादी रोजेपछि एमाले नेताहरुले वलीलाई अपहरण गरिएको बताइरहँदा उनले बुटवलमा पत्रकार सम्मेलन गरेकी हुन् ।
वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भएको थियो ।