बुटवल । विपक्षी दल माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा लुम्बिनी प्रदेश सरकारको दावी गरेको छ ।
४० जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष गठबन्धनको बहुमत रहेको बताउँदै अब बन्ने सरकारको दावी गरेको माओवादी केन्द्रका सांसद दिपेन्द्र कुमार पुन मगरले लुम्बिनी टाइम्सलाई बताएका छन् ।
‘प्रदेश सभामा हाम्रो बहुमत रहेको छ । अहिलेलाई ४० जनाको हस्ताक्षरसहित सरकारको दावी गरेका छौं,’ उनले भने ।
मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
यसअघि आज विहान मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका शंकर पोखरेलले आफ्नो पार्टी नेकपा एमालेको बहुमत रहेको दाबी गर्दै अव बन्ने सरकारको नेतृत्वको दावी गरेका थिए । तर पूर्व नेकपा सांसद बिमला वलीले आज मात्रै माओवादी केन्द्र रोजेपछि शंकर पोखरेलको बहुमत गुमेको गठबन्धनको दावी छ ।
लुम्बिनी प्रदेशमा बहुमतको सरकार बनाउनका लागि ४१ जना सांसदको आवश्यक पर्छ । प्रदेशमा कसको सरकार बन्ने भन्ने कुरा पेचिलो बन्दै गएको छ ।