बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादब समक्ष उनले बुझाएको राजीनामा पत्र स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
यसअघि नै प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । यी तिन दलको समावेदनमा आजदेखि सुरु हुन लागेको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो दिन आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै थियो । प्रस्तावबारे सम्भवतः भोली सोमबार मतदान हुँदै थियो । तर, यसअघि नै उनले राजीनामा दिएका छन् । मुख्यमन्त्रीको राजीनामा पछि प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव 'फेस' गर्नु नपर्ने भएको छ ।
राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ–‘मुख्यमन्त्री पोखरेलले नेपालको संविधान धारा १६९(१)(क) अनुसार मुख्यमन्त्री पदबाट अनुसार दिनुभएको राजीनामा प्रदेश प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ ।’
अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको प्रमुख सचेतक भूमिश्वर ढकालले लुम्बिनी टाइम्सलाई बताए ।
उनले भने–‘मुख्यमन्त्रीले अहिलेलाई राजीनामा दिनुभएको छ । नेकपा एमालेको नेतृत्वमा बहुमतसहितको सरकार गठन गर्नका लागि यस्तो कदम चाल्नुभएको हो ।’
यसबारेमा थप छलफलका लागि अहिले एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसिरहेको छ ।
तत्कालका लागि सरकार ढलेपनि फेरि नयाँ सरकार बनाउन प्रदेश सभामा अहिलेको अवस्थामा नेकपा एमालेसँग बहुमत पुग्ने देखिन्छ । लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो । २०७४ को निर्वाचनबाट नेकपा (एमाले)का ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद निर्वाचित भएका थिए ।
तर, एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले कारबाही गरिसकेको छ भने यता शंकर पोखरेलको सरकारमा सहभागी हुन गएका चार जना सांसदलाई जनता समाजवादी पार्टीले पनि कारवाही गर्दै सांसद पद खोसेको छ ।
जनता समाजवादी पार्टीले ४ र नेकपा माओवादी केन्द्र २ जना सांसदलाई कारवाही गरेपछि अहिले प्रदेश सभामा ८० सदस्य छन् । सरकार बनाउने बहुमतका लागि ४१ सदस्य चाहिन्छन् । प्रदेश सभामा एमालेका ४१, माओवादीका १७ (सभामुखबाहेक), कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् । जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । जसले गर्दा अविश्वास प्रस्तावको पक्षमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका गरी ३९ सांसद देखिएका थिए ।
एमालेबाट कोही सांसदले पनि फ्लोर क्रस नगरेमा फेरि एमालेकै नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखेपछि मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव ‘फेस’ गर्नुअघि नै राजीनामा दिएको देखिएको छ ।
उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको थियो ।