बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष बुझाएको राजिनामा स्वीकृत भएको छ ।
नेता भूमिश्वर ढकालले सरकारमा आफ्नो दावीसहित नयाँ सरकार गठन गर्नका लागि मुख्यमन्त्रीले राजीनामा दिएको लुम्बिनी टाइम्सलाई बताएका छन् । त्यससम्बन्धमा छलफल गर्न अहिले संसदीय दलको बैठक बसिरहेको पनि उनले जानकारी दिए ।
मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वास प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा पेश हुन लागेको छ ।
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । २०७४ को निर्वाचनबाट नेकपा (एमाले)का ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद निर्वाचित भएका थिए । एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले कारबाही गरिसकेको छ । यता जनता समाजवादी पार्टीेले सरकारमा सहभागी हुन गएको भन्दै चार जना सांसदलाई कारवाही गरेर सांसद पद खोसेको थियो ।
जनता समाजवादी पार्टीले ४ र नेकपा माओवादी केन्द्र २ जना सांसदलाई कारवाही गरेपछि अहिले प्रदेश सभामा ८० सदस्य छन् । सरकार बनाउने बहुमतका लागि ४१ सदस्य चाहिन्छन् । प्रदेश सभामा एमालेका ४१, माओवादीका १७ (सभामुखबाहेक), कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् । जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । जसले गर्दा अविश्वास प्रस्तावको पक्षमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका गरी ३९ सांसद देखिएका थिए ।
प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ । उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। दाङ २ (क) बाट निर्वाचित पोखरेल ३ फागुन, २०७४ मुख्यमन्त्री बनेका थिए ।