काठमाडौँ - नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि अस्पतालमा बेड छैन भन्नु गैरजिम्मेवारी अभिव्यक्ती भएको बताएको छ । उसले सरकारको यस्तो अभिव्यक्ती, निरिहता र अयोग्यताबाट संकटको पार पाउन नसकिने बताएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको थियो। त्यसको प्रतिक्रिया स्वरुप शनिबार बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लाचार अघिव्यक्ती बन्द गरेर कोरोना संक्रमण नियन्त्रणको लागि युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरे ।
‘इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो। यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’ विज्ञप्तीमा भनिएको छ ‘नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपिल गर्दछ,।’
संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने भन्दै अभावको गीत गाएर अभिभावकत्व पुरा हुन नसक्ने काँग्रेसको भनाइ छ । शर्माले विज्ञप्तीमा एक वर्ष सत्ताको द्वन्द्वमा समय खर्चेर अहिले बेड छैन भनेर निरिहता प्रस्तुत गरिएको उल्लेख गरेका छन् । ’पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? उनले प्रश्न गरे ।
नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहेको कांगे्रसको भनाइ छ।