बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साझा सूचीका कानून नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् ।
उनले संघलाई साझा सूचीका कानूनहरू निर्माणलाई प्राथामिकता दिन आग्रह गरे । प्रदेश ५ को दोस्रो स्थापना दिवस र बुटवल उपमहानगरपालिकाको ६१ औ स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले भने,–‘साझा सूचीका कानून संघले बनाउन ढिलो गर्दा केही कठिनाई उत्पन्न भएका छन्, हामी साझा सूचीका कानुनको पर्खाईमा छौं । आशा छ, यसै अधिवेशनबाट ती कानूनहरू बन्नेछन् ।’
प्रदेश सरकार कानून निर्माण र बजेट परिचालनको दृष्टिले पहिलो भएको भए पनि साझा सूचीका कानुन र केन्द्रका जिम्मेवारीका केही काम समयमा सम्पादन नहुदा प्रदेशका कानून निर्माणमा कठिनाई भएको उनले बताए ।
मुख्यमन्त्रीले शून्य अवस्थाबाट अगाडि बढको प्रदेश दुई वर्षको अवधिमा आइपुग्दा सन्तोषजनक अवस्था रहेको भए पनि अझै धेरै काम बाँकी रहेको बताए । पोखरेलले अझै पूरा गर्नुपर्ने दायित्व आफूहरु माझ रहेकोले ती दायित्व पूरा गर्न थुपै जटिलता रहेको बताए ।
मुख्यमन्त्रीले बैसाखमा आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको ढोका खोल्ने बिश्वास ब्यक्त गर्दै कपिलबस्तुमा नया औधोगीक क्षेत्र बनाउन सकिने सम्भावना देखिएको र प्रदेशमा थप ३ बटा औधोगिक क्षेत्र बनाउने योजना प्रदेश सरकारको रहेको बताए ।
‘हामी औद्योगिक क्षेत्रहरुको विकास र विस्तार गर्ने काममा लागेका छौं केन्द्र सरकारले जग्गा दिएमा उद्योग स्थापना गर्नका लागि आवश्यक पुर्वाधार बनाउने तर्फ लागेका छौं–मुख्यमन्त्रीले भने । मुख्यमन्त्रीले लुम्बिनी र लुम्बिनीसँग जोडिएका सम्पदाहरुको विकासमा प्रदेश सरकारले निरन्तर सक्रिय रहने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलको योजनाबद्ध विकास आफूहरु जुटेको बताए । उनले प्रदेश सरकारसँग बुटवल उपमहानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा ३५ जनालाई विभिन्न पदकले सम्मान गरिएको थियो । कार्यक्रम अघि बुटवलको राजमार्ग चौराहबाट बाजागाजा सहित विभिन्न जातजाति र समुदायले झाँकी प्रर्दशन गरेका थिए । ¥यालीमा प्रदेशका मन्त्रीहरु, सभामुख, उपसभामुख, मन्त्रालयहरुका कर्मचारी, नेपाल प्रहरी, सर्वसाधारण लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो । र्यालीमा विभिन्न जातजाति र समुदायका झाँकी, पञ्चेबाजा, भजन, कृतन, लाखे नाच, मयूर नाच समेत प्रदर्शन गरिएको थियो ।