बुटवल- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले देशभरी अर्को पार्टी खोलेर हिँड्दा पनि आफूहरु सम्झाइवुझाइ गर्ने प्रयासमा रहेको बताएका छन्। उनले संवादको प्रयासलाई कम्जोरी नठान्न पनि चेतावनी दिएका छन।
काठमाडौँको बल्खुमा विहिवार पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै ओलीले गुटगत गतिविधिलाई मान्यता दिन नसकिने बताए। ‘अराजकतासँग सम्झौता गर्न सकिँदैन, गुटलाई भाग दिन पनि सकिँदैन,’ उनले भने, ‘मेरो गुटलाई यति भाग भन्ने अव पार्टीमा चल्दैन।’
ओलीले पार्टीमा रहेको व्यक्तिवादी प्रवृति भएकाहरुले अरुको सफलता देख्न नसकेर आफूमाथि हमला गरिरहेको आरोप लगाए ‘हमला यस्तो थियो ५६ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा रहेको मलाई दलको सदस्यबाट हटाइयो’, उनले भने, ‘दलको नेताबाट हटाउने अर्कै कुरा थियो। साधारण सदस्य पनि नरहने गरी हटाएर उद्घोष गरियो। केपी ओलीलाई सिध्याइयो।’