बुटवल-प्रदेश ५ सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउँदैछ। फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधार मानेर प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार शनिबार प्रदेश स्थापना दिवस मनाउन लागिएको हो।
सो अवसरमा सरकारले प्रदेश राजधानी बुटवलमा कविता, वक्तृत्वकला, गजलवाचन कार्यक्रम, रक्तदान कार्यक्रम, सरसफाई, मूल समारोह र दीपावलीका कार्यक्रम आयोजना गरेको छ।
फागुन २ गते ‘समृद्ध प्रदेश खुशी जनता’ शीर्षकमा कविता, वक्तृत्वकला, गजलवाचन, राजधानी बुटवल र जिल्ला सदरमुकामहरुमा रक्तदान कार्यक्रम, नगरका मुख्यचोक, जिल्ला सदरमुकाम, सरकारी कार्यालयआसपासमा सरसफाई र दीपावलीको कार्यक्रम तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले जानकारी दिए।
यस्तै ३ गते बिहान बुटवलमा विभिन्न समुदायको संस्कृति झल्किने झाँकीसहितको र्याली निकाल्ने र बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा मुल समारोहको कार्यक्रम आयोजना हुने छ।
सोही दिन बेलुका सरकारी, सामुदायिक संघसंस्था, वित्तिय संघसंस्था तथा आमनागरिकलाई दीपावलीका लागि आह्वान गरिएको उपसचिव हरिसिंह धामीले बताए।
४ गते लुम्बिनी विकास कोषको समन्वयमा लुम्बिनी क्षेत्रभित्र हिउँदे फलफुलका विरुवा रोप्ने कार्यक्रम रहेको र बेलुका दीपावली गर्ने कार्यक्रम तय भएको उनले बताए।
मुल समारोहको अवसरमा सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेका पदक वितरण गर्ने कार्यक्रम छ। सरकारले ११ विधामा ३५ जनालाई पदक बाँड्दैछ।
पदक पाउनेहरुमा क्रिकेट खेलाडी सोमपाल कामीदेखि लुम्बिनीमा हत्या गरिएका जापानका भिक्षु नावातामेसमेत परेका छन्।
लुम्बिनीको विकासमा योगदान पु¥याएका र लुम्बिनीमा शान्ति स्तुपा बनाउँदै गर्दा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिने निर्णय भएको छ। त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा पदक द्वितीय पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न योगदान गरेका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई दिइने भएको छ।
संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेवापत दाङका भगौता थारुलाई प्रदेश प्रमुख जनसेवा पदक तृतीय तथा पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम श्रीमान श्रीमतीलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीय दिने निर्णय गरिएको छ।
प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्वलद्वीप पदक प्रथम दिने निर्णय भएको छ । उनको दाङमा सडक दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको हो। प्रदेशको प्रमुख सचिवको रुपमा उत्कृष्ट काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीय दिने निर्णय भएको छ।
समाजसेवाश्री प्रथम पत्रकारितामा योगदान गरेका दाङका नारायणप्रसाद शर्मा, समाजसेवाश्री द्वितीय गुल्मीका शमशेरबहादुर खत्री (मरणोपरान्त), संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेकी दाङकी हिमा उपाध्याय (मरणोपरान्त) र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेको भन्दै बाँकेका अशोककुमार क्षेत्रीलाई दिइने भएको छ।
त्यसैगरी समाजसेवाश्री पदक तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले पाउने भएका छन्।
थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सिपी शर्मा र शशीधर पौडेलले प्रदेश रत्न द्वितीय पाउने भएका छन्।
त्यसैगरी प्रदेश रत्न तृतीय पदक पाउनेमा भाषा साहित्यबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेका गुल्मीका सोमपाल कामी रहेका छन् । यसैगरी पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बांकेका कृष्णलाल चौधरीले पाउने छन्।
प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी वाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभुषित गर्ने निर्णय गरिएको छ। प्रजापति गौतमी तृतीयबाट महिला सशक्तिकरणको क्षेत्रबाट दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागिरथी घर्तीलाई प्रदान गर्ने निर्णय गरिएको छ। दङ्गीशरण बलिहाङ प्रथमबाट थारु भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दङ्गीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका जितबहादुर थापा मगर (मरणोपरान्त)लाई दिने निर्णय भएको छ।
त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीयबाट थारु भाषा प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेका बर्दियाका एकराज चौधरी, उर्दु भाषाको क्षेत्रमा उल्लेख्य योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ र अवधि भाषा साहित्यमा योगदान गरेका नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई प्रदान गर्ने निर्णय गरिएको छ।
नेकपाका नेता एवं पूर्वसांसद नेत्र पन्थी संयोजक रहेको समितिले पदक पाउने व्यक्तिहरु छनोट गरी सरकारलाई सिफारिस गरेको थियो।