बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको छलफल पछि अविश्वासको प्रस्ताव दर्ता भएको हो।
अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका नेता तथा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ। प्रस्तावमा ४१ जना सदस्यको हस्ताक्षर रहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिमगरले जानकारी दिए। ‘हामीसँग सरकार गठनको लागि आवश्यक पर्ने ४३ सांसद छन्।
अहिले ४१ सांसदको हस्ताक्षर बुझाएका छौं।’ उनले भने। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्।
८७ सदस्यीय प्रदेशसभामा दुई सदस्यलाई माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त भएकाले अहिले ८५ सदस्य छन्। नयाँ सरकार बनाउन ४३ जना सांसद आवश्यक पर्दछ । प्रदेशसभामा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन्।