बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादी केन्द्र र कांग्रेसले गरेका छन्। अविश्वास प्रस्ताव दर्ताको लागि अहिले माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको छ।
तीन दलको बैठक बसिरहेको सत्ता समिकरण तथा समसामयीक विषयमा छलफल भइरहेको कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी दिए। मुख्यमन्त्रीमा कुलप्रसाद केशीलाई प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव पेश गर्ने कांग्रेस र माओवादी केन्द्रबीच सहमती भइसकेको छ।
यस अघि आइतबार जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बसेको थियो। बैठकले सरकार गठनका बारेमा दुई दलसँग कुरा गर्ने निर्णय गरेको थियो।
८७ सदस्यीय प्रदेशसभामा दुई सदस्यलाई माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त भएकाले अहिले ८५ सदस्य छन्। नयाँ सरकार बनाउन ४३ जना सांसद आवश्यक पर्दछ । प्रदेशसभामा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन्।