बुटवल- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बैस्दै छ। प्रदेश सरकार विरुद्ध कांग्रेस र माओवादी केन्द्रले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न जसपाको बैठक बस्ने लागेको हो।
बैठक दिउसो तीन बजे बस्ने जसपाका संसदीय दलका नेता सहश्रराम यादवले लुम्बिनी टाइम्सलाई बताए। ‘मुलुकको पछिल्लो परिस्थितीबारे आज साथीहरुसँग छलफल गर्दै छौं।’ उनले भने ‘बर्तमान प्रदेश सरकारको बारेमा पनि छलफल गर्दैछौं।’
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट शंकर पोखरेललाई हटाउन नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याउन लागेका छन्। त्यसको लागि जनता समाजवादी पार्टीको निर्णय पर्खिरहेका छन्। प्रदेश सभाको सातौं अधिवेसन सकिनुअघिनै दुई दलले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए।
प्रस्तावको लागि आवश्यक पर्ने बहुमत सांसद नजुटेकाले रोकिएको थियो। अविश्वासको प्रस्ताव आउने संकेत पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको अधिवेसन अन्त्य गराएका थिए। ६ जना सांसद रहेको जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावमा समर्थन गरेमा शंकर पोखरले मुख्यमन्त्री पदबाट हट्ने छन्।
८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले दुइ जना सांसदलाई पार्टीले कारवाही गरेपछि ८५ सदस्यीय भएको छ। जस मध्ये एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन।
कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेमा तथा जनमोर्चाका सांसदले अविश्वास प्रस्तावको पक्षमा समर्थन गरे प्रदेश सरकार ढल्ने छ। एमालेको माधव नेपाल पक्षमा खुलेका २ सांसद छन् । उनीहरुले कर्णाली प्रदेशमा जस्तै नयाँ सरकारकाे लागि साथ दिने माओवादी केन्द्रकाे आशा छ ।
अविश्वासको प्रस्तावसँगै दुई दलले अहिलेका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी गरेका छन्। दुई दलबिच गण्डकी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिने र लुम्बिनीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने सहमती भएको छ।