बुटवल–बलदेव शर्मा पोखरेलको निधन भएर पाँच नम्बर प्रदेश सभाको एक सदस्य पद रिक्त भएको २० दिन भइसक्दा पनि निर्वाचन आयोगले अझै थाहा पाएको छैन।
माघ ६ गते कांग्रेस नेता तथा पाँच नम्बर प्रदेश सभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा एक सदस्य पद रिक्त छ।
पौडेलको ठाउँमा अरु कसैलाई ल्याउन निर्वाचन आयोगलाई जानकारी हुनु आवश्यक छ। तर प्रदेश सभा सचिवालय र नेपाली कांग्रेसको संसदीय दलले यस बारेमा चासो दिएका छैनन्।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले कानूनी प्रक्रियाबारे अध्ययन गरिरहेको बताए। ‘सचिवालयको कानून शाखालाई भनेका छौ। उसले अध्यन गरिरहेको छ। छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउँछौं।’ उनले भने। सदस्य पद रिक्त हुने वित्तीकै प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने कानूनमा प्रष्ट लेखेको छ। लामो अध्ययन गर्न आवश्यक पनि छैन।
नेपाली कांग्रेस प्रदेशको संसदीय दलले पनि रिक्त पद पूर्ति गर्ने बारे अहिले सम्म चासो दिएको छैन। सचिवालय र कांग्रेसको संसदीय दलबीच यस विषयमा छलफल समेत नभएको प्रदेश सभा सचिव पुनले बताए। ‘कांग्रेसको संसदीय दलबाट पनि हामीलाई केही संकेत आएको छैन। औपचारीक रुपमा केही भन्नुभएको छैन।’ पुनले भने ‘तर पनि हामीले कानूनी रुपमा गर्नूपर्ने कार्य गर्छाैं।’
प्रदेश सभाका कांग्रेस संसदीय दलका उपनेता विरेन्द्र कनौडियाले सचिवालयसँग छलफल आवश्यक नपर्ने बताए। ‘सचिवालयसँग सरसल्लाहको आवश्यक छैन। स्वभाविक रुपमा सचिवालयले कानून बमोजिम निर्वाचन आयोगलाई जानकारी दिएर अघि बढ्न सक्छ।’ उनले भने।
बलदेव शर्मा पोखरेल समानुपातीक तर्फबाट प्रदेश सभामा पुगेका थिए। उनी खस आर्य समुहको पुरुष तर्फबाट सदस्य भएका हुन्। नेपालको संविधानको धारा १७६ को उपधारा (८) मा “प्रदेश सभाको कार्यकाल छ महीना भन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने छ।” भनेर उल्लेख छ।
शर्मा नेपाली कांग्रेसको समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका थिए। त्यसैले रिक्त पदमा समानुपातिक सुचिबाटै पद पूर्ति गर्नुपर्ने हुन्छ। त्यसको लागि प्रदेश सभा सचिवालयले आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ।
प्रदेश सभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४७ मा प्रदेश सभा सदस्यको पद रिक्त भएमा अर्को सदस्य मनोनयन गर्ने व्यवस्था यसरी उल्लेख छ।
(१) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वा्चित कुनै सदस्यको मृत्यु भई, राजीनामा दिई, दल त्याग गरी वा अन्य कुनै कारणले पद रिक्त भएमा प्रदेश सभाको सचिवालयले आयोगलाई जानकारी गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पद रिक्त भएको जानकारी प्राप्त भएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउन सात दिनको समय दिई जानकारी गराउने छ।
(३) उपनियम (२) बमोजिमको जानकारी प्राप्त भएपछि सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेदवारको बन्दसूचीमा कायम रहेको अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम दलले उम्मेदवार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको सदस्यको पद रिक्त भएको हो उपलब्ध भएसम्म सोही समावेशी समूहको उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम दलले मनोनयन गरी पठाएको उम्मेदवारलाई आयोगले सदस्य पदमा निर्वा्चित भएको घोषणा गर्नेछ। यी प्रक्रिया पार खस आर्यको समुहबाट पूरुष तर्फ शंकर गिरि प्रदेश सभा सदस्य बन्ने छन्।
पाँच नम्बर प्रदेशको प्रदेश सभामा खस आर्यको पूरुष तर्फ ५ जना समानुपातिकको सुचीमा रहेका थिए। त्यस २०७४ सालको चुनाबबाट मध्ये बलदेव मात्र प्रदेश सभामा पुग्न पाएका थिए। समानुपातिको सुचीमा सोही समुह तर्फ बलदेव शर्मा पछि शंकर गिरिको नाम रहेको छ।