बुटवल : राष्ट्रिय जनमोर्चाले बामपन्थीहरु मिलेर नयाँ सरकार निर्माण गर्न आग्रह गरेको छ। टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने उसको प्रतिक्रिया छ ।
चैत्र २४ गतेदेखी २६ गतेसम्म बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनमोर्चाले केपी ओली सरकारले बाटो खाली गर्नुपर्ने र बामपन्थी दलहरु मिलेर नयाँ सरकार बन्नुपर्ने धारणा राखेको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले अहिलेको राजनीतिक अन्योल र अस्थिरताको जड केपी ओली नै भएको बताए । विघटित प्रतिनिधि सभा पुनस्थापना भएपछि राजीनामा दिनुको सट्टा ओलीले सरकारको आयो लम्बाउने र देशलाई फेरी मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको उनले आरोप लगाए । राजनीतिक अस्थीरता र अन्योलमा प्रतिगामी र विदेशी शक्तीहरु खेल्ने मौका पाएकाले प्रधानमन्त्री ओलीले चाँडो निकास दिनुपर्ने केशीको भनाइ छ।
राष्ट्रिय जनमोर्चाले देशलाई प्रतिगामी दिशामा जान नदिको लागि गणतन्त्रको रक्षा गर्नु आफ्नो मुल कार्यनीति भएको जनाएको छ। मुलुकमा उच्च स्तरको जनवादी राजनीतिक व्यवस्थाको आवश्यकता भएपनि तत्काल यसलाई कार्यनीति बनाएर अघि बढ्न नसक्ने भएकाले गणतन्त्र रक्षालाई जोड दिइएको राष्ट्रिय जनमोर्चाको निर्णयमा उल्लेख छ। ‘जनताको आधारभूत समस्याहरु समाधानको लागि उच्च स्तरको जनवादी राजनीतिक व्यवस्थाको अवश्यकता पर्दछ।’
सम्मेलनको निर्णयमा भनिएको छ ‘तत्कालका लागि जनवादी व्यवस्थालाई कार्यनीति बनाएर अघि बढ्न सक्ने स्थिती छैन। देशलाई प्रतिगामी दिशामा जान नदिनको लागि गणतन्त्रको रक्षा अहिलेको हाम्रो मूल कार्यनीति सम्मेलनले पारित गरेको छ।’
गणतन्त्रबादी शासकहरुका गलत नीतिका अहिलेको व्यवस्थाप्रति तीब्र असन्तोष बढेर गएको पत्रकार सम्मेलनमा केशीले बताए । उनले व्यवस्था विरोधी गतिविधिले गणतन्त्रमाथि नै खतरा भएकाले सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
संघियताले मुलुकलाई बोझ थपेको भन्दै राष्ट्रिय सम्मेलनले संघियता खारेजीको लागी जोड दिएको जनमोर्चाले जनाएको छ।
चौथो राष्ट्रिय सम्मेलनले पुन चित्रबहादुर केशी अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७, १७:३९:००