काठमाडौँ । नेकपा माओवादी केन्द्रले सात जना नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ । उनीहरु सबैजना केपी शर्मा ओली सरकारमा मन्त्री पदमा छन् । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
बादल, भट्ट, साह, चौधरी र रायमाझीको सांसद पदसमेत खोस्ने निर्णय गरेको छ। उनीहरुलाई कारवाहीको पत्र तयार भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विलयपूर्वको अवस्थामा पुर्याएको थियो । तर यी मन्त्रीहरुले माओवादी त्यागेको बरु सांसद पद गए पनि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै रहने निर्णय लिएका थिए ।
केन्द्रले फागुन २९ गते, चैत्र १ गते र त्यसपछि एक पटक गरि तीनपटक यी मन्त्रीहरुलाई पार्टीमा फर्किन निर्देशन दिनुका साथै आफ्नो धारणा पेश गर्न आग्रह गरेको थियो।