काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई पाार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।
प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् । माओवादी केन्द्रको चैत १ र २ गतेको केन्द्रीय समितिको निर्णयले प्रत्यायोजित गरेको अधिकार अनुसार अध्यक्ष प्रचण्डले मंगलबार उनीहरुले दल त्याग गरेको ठहर गरी साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेका हुन् ।