बुटवल- लुम्बिनी प्रदेश सभाको सातौ अधिवेसन छिट्टै अन्त्य गरिएको प्रति सांसदहरुले आपत्ती प्रकट गरेका छन्। चालु अधिवेसनको अन्तिम बैठकमा बोल्दै उनीहरुले राष्ट्रिय राजनीतिलाई देखाएर अधिवेसन अन्त्य गर्न नपाइने बताएका थिए।
बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य विरवहादुर रानाले हिउँदे अधिवेसन अन्त्य गरेर मुख्यमन्त्रीले लोकतन्त्र उपयोग गरेर अर्को अधिनायकबाद लादेको बताए। ‘तत्कालिन समयका शासक जस्तै अहिले पनि त्यही सैलीमा लोकतन्त्रलाई उपयोग गरेर अर्को अलोकतान्त्रीक गतिविधि र अधिनायकबाद लाध्न खोजियो त्यस प्रति हाम्रो आपत्ती छ।’ उनले भने छोटो समयमा जुन ढंगले सभालाई अन्त्य गर्न खोजियो। राष्ट्रिय राजनीतिलाई देखाएर प्रदेश सभा अन्त्य गर्न पाइँदैन।’
उनले मुख्यमन्त्री पनि केन्द्रीय छाडातन्त्रमा लागेको आरोप लगाए । प्रतिपक्षले कहाँ नेर अफ्ठ्यारो पार्यो र अधिवेशन अन्त गर्न खोजेको भनेर उनले प्रश्न गरे।
माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले प्रदेश सभाबाट सरकार किन आतंकित भइरहेको भनि प्रश्न गरे। ‘आजबाट संसद अन्त्य हुँदै छ । संसदबाटसरकारहरु किन आतंकित छन्।’ उनले भने ‘कतै अविश्वासको प्रस्ताव आउन लाग्यो भन्ने शंकाले हो? त्यसको सामना गर्ने आँट छ भनेर मुख्यमन्त्रीले भन्नुभएको थियो। आज किन तर्सिनुपर्यो?’ खड्काले लुम्बिनी प्रदेशले नमुना देखाउनुपर्नेमा तर्सेर भागेको आरोप लगाए।
जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले ४ दिने संसद चलाएर अन्त्य गर्नु आश्चर्यको विषय भएको बताए। मुख्यमन्त्रीले आएका चुनौतिलाई सामना गरेर अघि बढ्नुपर्नेमा त्यसो नगरेको उल्लेख गरे।
नेकपा एमालेका सांसद कमलराज श्रेष्ठले छोटो समय संसद चल्दा अलोकतान्त्रीक र लामोसमय चले लोकतान्त्रीक भन्न नमिल्ने बताए। उनले बजेटको तयारी गर्नुपर्ने भएकाले अधिवेसन अन्त्य हुनु ठीकै भएको बताए।