बुटवल । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको छ। नेकपा एमाले बाहेकका तीन दलले सरकार परिवर्तनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका पार्टीका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन्। जनता समाजवादी पार्टीका ३ जना सदस्यले हस्ताक्षर संकलन गरिसकेको र बाँकी ३ जनाले हस्ताक्षर गर्न बाँकी रहेको छ। प्रदेश सभामा जसपाका ६ जना सांसद रहेका छन्। कांग्रेस र माओवादी केन्द्रको हस्ताक्षर संकलन भइसकेको बताइएको छ।
सरकार परिवर्तनको लागि अपरान्ह आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको छ। माओवादी केन्द्रले २ जना सांसदलाई कारवाही गरेसँगै सत्ताको अंकगणितको खेल सुरु भएको हो।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन्। सरकार बचाउनको लागि मुख्यमन्त्री शंकर पोखरेललाई ४४ मत आवश्यक पर्दछ।
मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ। एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् । एमालेको ओली समुहमा प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको पत्र प्रदेश सभामा दर्ता गरेको छ।