बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको ट्रयाक खलबल्याउन केन्द्रबाट प्रयास भइरहेको बताएका छन्। प्रदेश सभाको सोमबारको बैठकमा माओवादी केन्द्र तर्फ संकेत गर्दै उनले केन्द्रबाट प्रदेश सरकारलाई धक्का दिने काम गरेको बताए।
केन्द्रीय राजनीतिलाई गलत बाटोमा लैजाने प्रयास रोक्न आफूले भूमिका निर्वाह गरेकाले प्रदेश सरकार तारो बनेको पोखरेलको भनाइ छ। ‘शंकर पोखरेलले केन्द्रीय राजनीतिलाई गलत बाटोमा जानबाट जसरी हस्तक्षेप ग¥यो। त्यो हस्तक्षेप मन नपराउने शक्तिहरुले लुम्बिनी प्रदेशमा धक्का दिन सक्यो भने आँफू विजेता भइन्छ भन्ने मान्यता राखेका छन्।’ उनले भने ‘लुम्बिनी प्रदेश सरकारलाई अस्थिर बनाउने कोशिसलाई हामी किमार्थ सफल हुन दिँदैनौं।’
पोखरेले सिमित सत्ता स्वार्थबाट हुने हलचलबाट प्रभावित नहुने दाबी गरे। आफ्नो विकल्पमा प्रदेश सरकारको नेतृत्व गर्न खुलस्त आउँछ भने तयार रहेको बताए। ‘संघियता कार्यान्वयनको लागि प्रतिपक्षले मिलेर काम गरौं भन्छ भने म त्यसको लागि तयार छु ।’ उनले भने ‘होइन अहिलेको मुख्यमन्त्री भन्दा बृहत्तर विकल्प दिन सक्छौ भन्ने सन्दर्भमा खुलस्त आउने हो भने मुख्यमन्त्री त्यसको लागि तयारै छ।’
पोखरेलले लुकेर विकल्प खोज्नुको जरुरी नभएको उल्लेख गरे। माओवादी केन्द्रतिर लक्षित गर्दै उनले सत्तामा नबस्ने हो भने छलफल गर्न सकिने बताए। पोखरेलले सत्तामै रहेर सत्तालाई कम्जोर पार्ने काम लोकतन्त्रमा नसुहाउने उल्लेख गरे।