लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ। बैठक दिउसो १ बजे बस्ने छ। आजकै वैठकबाट प्रदेश सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको पद खोसिँदै छ। माओवादी केन्द्रबाट सांसद भएका न्यौपाने र पन्थी एमालेमा प्रवेश गरेका थिए। पार्टी छोडेर गएकाले दुई जनालाई कारवाही गरिएको भन्दै माओवादी केन्द्रले प्रदेश सभा पत्र पठाएको थियो।
माओवादी केन्द्रले पठाएको पत्र सभामुख पूर्णबहादुर खत्रीले पढेर सुनाउने कार्यसूची रहेको माओवादी केन्द्रकी सांसद दामाकुमारी शर्माले जानकारी दिइन्। ‘कारवाहीको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ। कार्यसूची परिवर्तन नभएमा उहाँहरुको आज पद खोसिने छ।’ उनले भनिन्।
प्रतिनिधि सभा विघटन पछि न्यौपाने र पन्थी केपी ओलीको पक्षमा उभिएका थिए। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले दुई पार्टी ब्युँतिएपछि पनि उनीहरु एमालेमै रहने घोषणा गरेका थिए।
एमालेमा गएपछि दुवैजनालाई माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घण्टे स्पष्टीकरण सोधेका थिए । स्पष्टिकरण नदिएपछि माओवादी केन्द्रले कारवाही गरेको हो।