बुटवल- एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ। सर्वाेच्च अदालतको फागुन २३ गतेको फैसलापछि माओवादी केन्द्र छाडेर एमालेमा गएका रुपन्देहीका सांसद दधिराम न्यौपाने र गुल्मीका सांसद दिनेश पन्थीलाई माओवादी केन्द्रले कारवाही गरेको हो।
प्रतिनिधि सभा विघटन पछि उनीहरु केपी ओलीको पक्षमा उभिएका थिए। दुई पार्टी ब्युँतिएपछि पनि उनीहरु एमालेमै रहने घोषणा गरेका थिए ।
एमालेमा गएपछि दुवैजनालाई माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घण्टे स्पष्टीकरण सोधेका थिए । स्पष्टिकरण नदिएपछि कारवाही गरिएको माओवादी केन्द्रकी सांसद दामा शर्माले जानकारी दिइन्।
कारवाही गरिएको पत्र पार्टीको प्रदेशको संसदीय दलले प्रदेश सभा सचिवालयमा बुझाइसकेको उनले बताइन् । प्रदेश सभामा केन्द्रीय समितिले दिएको पत्र पनि पुगेको शर्माको भनाइ छ।