काठमाडाैँ- थरुहट संघर्ष समिति र सरकारबीच मंगलबार वार्ता भएको छ। थारु कल्याणकारिणी सभा सहित थरुहटसँग गृहमन्त्रालयमा बार्ता भएको हो। समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइ लगायतका बारेमा दुई पक्षबिच छलफल भएको थियो।
वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सहभागी थिए। थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सहभागी थिए।
टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनु पर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरू आन्दोलनमा छन्।