बुटवल– बलदेव शर्मा पोखरेलको निधन पछि प्रदेश ५ सभामा विपक्षी दलको नेताको पद रिक्त छ । परिवारले पोखरेलको निधनको १३ दिनको कर्म पनि सकेका छन् । यता पार्टीभित्र प्रदेश सभामा दलको नेतामा को चुनिन्छन् भन्ने कांग्रेस कार्यकर्ताको चासो बढेको छ ।
विगतको अवस्था हेर्दा कांग्रेसलाई दलको नेता चुन्न सहज छैन । २ वर्षअघि प्रदेश सभा स्थापना भएर पहिलो अधिवेशन सुरु भएपछि कांग्रेसलाई दलको नेता चुन्न निकै सकस भएको थियो । त्यसबेला कांग्रेसले प्रदेश सभाको विपक्षी दलको नेता चयन गर्न चुनाबको मिति तोक्दै सार्दै गरेको थियो । लामो कसरतपछि बलदेव शर्मा पोखरेल दलको नेतामा सर्वसम्मत चुनिएका थिए । यसपटक पनि त्यही प्रवृत्ति दोहोरिने हो कि भन्ने आशंका छ नेताकार्यकर्तामा ।
२ वर्षअघि दलको नेताको लागि ५ जना उमेदवार अघि सरेका थिए । रुपन्देहीका बलदेवसहित कपिलवस्तुका विरेन्द्रप्रसाद कनौडिया, दाङका डिल्ली चौधरी, पाल्पाका वीरबहादुर राना र रुपन्देहीकै फखरुद्दिन खाँको उमेदवारी परेको थियो । बलदेवको निधनपछि अब पनि दलको नेतामा यिनै नेताहरुको दाबी रहने अनुमान गरिएको छ । तर पाल्पाका विरबहादुर राना र दाङका डिल्ली चौधरीले दलको नेता हुन दौडधुप तीब्र पारेका छन् ।
नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति विरबहादुर राना समानुपातिक तर्फबाट सांसद भएका हुन् । २०७० सालको चुनाबमा पाल्पाबाट संविधान सभाको सदस्यमा उमेद्वार बनेपनि जित्न सकेका थिएनन् । भाषण तथा अभिव्यक्ति उनी खरो छन् । उनी पार्टीमा संस्थापनइतर अर्थात रामचन्द्र पौडेल निकट मानिन्छन् ।
दाङका डिल्ली चौधरी संविधान सभा सदस्य र मुलुकको राज्यमन्त्री भइसकेका हुन् । २०७० सालको चुनाबबाट संविधान सभा सदस्य बनेर उनी राज्यमन्त्री भएका थिए । चौधरी हाल प्रदेश सभामा लेखा समिति सभापति छन् । उनी पार्टीमा संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
विगतमा दलको नेताको दाबी गरेका हाल उपनेता रहेका विरेन्द्र प्रसाद कनौडिया २०५६ सालमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५८ सालमा जलश्रोत राज्यमन्त्री पनि बने । २ वर्षको अघिको चुनाबमा कपिलवस्तु ३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित हुन् उनी । २० वर्ष अघि नै सांसद भएको हिसाबले कनौडियालाई संसदीय दलमा वरिष्ठमा पर्छन् । तर राजनीतिक हिसाबले भने उनी बहस र चलखेल गर्न कमजोर मानिन्छन् ।
पार्टीमा देउवा पक्षकै भएपनि उखु किसानलाई भुक्तानी नगरेको भन्दै भएको आलोचनाले कनौडिया तत्काल दलको नेता बन्ने सम्भावना कम रहेको एक कांग्रेस कार्यकर्ता बताउँछन् । राजधानीको विषय र गुटगत विवाद मिलाउन संस्थापनले उनलाई अघि नसार्ला भन्न सकिन्न ।
फखरुद्दिन खाँ उमेर तथा राजनीतिक अनुभवले कान्छा छन् । राप्रपा, संघीय समाजवादी फोरम हुँदै २०७२ सालमा मात्र उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । त्यसैले उनको दलको नेतामा सम्भावना कम छ ।
त्यसैले दलको नेतामा राना र चौधरीको दाबेदारी बलियो छ । पार्टीको गुटगत रुपमा जाँदा प्रदेश सभामा देउवा पक्षको संख्या बढी छ । त्यसो हुँदा डिल्ली चौधरीको मत बलियो छ । तर चालु अधिवेशनमा प्रदेशको नामाकरण र राजधानीको टुंगो लाग्ने भन्ने खालको चर्चा चलिरहेका बेला यसले पनि दलको नेताको चयनमा प्रभाव पार्ने अनुमान गरिएको छ ।
प्रदेश राजधानी बुटवल र दाङको बहस भौगोलिक रुपमा चलिरहेकै छ । प्रदेशको राजधानीको विषयले पनि भौगोलिक रुपमा सांसदहरुलाई विभाजित बनाएको छ ।
प्रदेशमा दलको नेता चयनको लागि वरिष्ठता बाहेक केन्द्रीय नेताको निकटताले पनि प्रभाव पार्न सक्छ । यस अघि बालकृष्ण खाँणको जोडबलमा बलदेव शर्मा पोखरेल दलको नेता बनेका थिए । त्यसैले यस पटक पनि केन्द्रीय नेतृत्वको दबावको असर पर्ने देखिन्छ ।
काग्रेस संसदीय दलको नेता चयनको चर्चा चलेपनि बलदेव शर्मा पोखरेलको ठाउँमा अर्को सदस्य पठाइसकेपछि टुंगो लगाउने कि पहिले नै तोक्ने भन्नेबारे कांग्रेसले आन्तरिक छलफल चलाइरहेको छ । बलदेव शर्माको निधन भइसकेपछि प्रदेश सभमा अहिले कांग्रेसका १८ जना सदस्य छन् ।