बुटवल । निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि सरकारले वार्ता टोली गठन गर्न सक्ने संकेत नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले दिएका छन् । चौधरीको रिहाइका लागि काठमाडौंमा भएको प्रदर्शनमा सहभागि हुन गएको वादलले त्यसो बताएका हुन् ।
जसपाका नेता कार्यकर्ताहरुहरु माझ उनले भने–‘तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसअघि बढ्दै उनले फेरि भने,‘सरकारको यसमा ध्यान पक्कै गएको छ। प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित भएको छु। सरकार पनि समस्यालाई सकेसम्म छिटोभन्दा छिटो समाधान गर्ने पक्षमै छौं।’
उनले चौधरीको रिहाइको विषयमा सरकार सकारात्मक नै रहेको बताए। ‘सरकारले छिट्टै वार्ता टोली गठन गरेर सम्वाद र वार्ताद्वारा नै यसलाई हल गर्नु उपयुक्त हुन्छ,’ उनले भने।
थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडौंको संयुक्त आयोजनामा माइतीघरमा केहि दिन देखि प्रदर्शन हुँदै आएको छ।
टीकापुरमा २०७२ भदौ ७ गते एक एसएसपी सहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाएको आरोपमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले गत पुसमा जन्मकैदको फैसला सुनाएको थियो।