काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेपालमा फेरि लकडाउन नहुने बताएका छन् । उनले संक्रमण रोक्न स्वास्थ्य मापदण्डलाई कडाई गरेपनि फेरि लकडाउनमा मुलुक जाने सम्भावना नरहेको स्पष्ट पारेका हुन् । उनले लकडाउन नगरिने र सीमा नाका पनि बन्द नगरिने बताएका हुन् ।
बिहीबार न्यूज एजेन्सी नेपाल(नान)सँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन् ।
उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनुपर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ ।
त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन ।’
अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको बताए।