काठमाडाैँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओलीको सामना गरेरै पार्टीमा अघि बढ्ने बताएका छन्। उनले आफू पार्टी फूटाउने पक्षमा नरहेको स्पष्ट पारे।
मंगलबार अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले स्पष्टिकरण सोध्दैमा आफू मैदान छाडेर नभाग्ने बताए। ‘हामी मैदान छाडेर भाग्दैनौं। पार्टी हामी फुटाउँदैनौ, केपी ओलीले फुटाउँछन्,’ उनले भने। ‘मैले राजा वीरेन्द्रसँग डिल गरेको छु, ज्ञानेन्द्रसँग पनि डिल गरेको छु। गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग पनि डिल गरेको छुु। केपी ओलीसँग डराउँदिन,’ जस्तोसुकै परिस्थिति आए पनि आफू विचलित नहुने भन्दै नेपालले अहिले पनि आनन्दले सुत्ने गरेको सुनाए।
प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको नेपालले बताए । ओलीमा कम्युनिस्ट चरित्र नभएको र सुरुदेखि नै गुटका राजनीति गरेको उनको आरोप छ । नेपालले ओलीले आफूलाई बा भन्ने रुचाउने बताए। ‘ओली आफूलाई बा भन्न रुचाउछन्, कमरेड भन्दैनन्। उनमा कम्युनिष्ट संस्कार नै छैन’, उनले भने।