काठमाडाैँ- नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ। बिहीबार बसेको एमाले संसदीय दलले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो।
बैठकमा एमाले उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम पनि उपस्थित भएका छन्।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिक रुपमा दुइ समूहमा विभाजित भएको थियो। त्यसबेला गौतम कुनै पनि पक्षमा नलागि पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरेका थिए। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि गौतम एमाले एक हुनपर्ने बताउँदै आएका थिए।
त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने आजको बैठकमा सहभागी भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय समितिको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि नेपाल खनाल पक्ष आक्रोशित भएको छ। संसदीय दलको बैठकपछि आजै एमालेको केन्द्रीय समिति बैठक पनि बस्ने बताइएको छ।