भैरहवा । तराई मधेश जनता पार्टी (टाइगर्स) ले सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन लागि सरकारसँग अपिल गरेको छ । नेपाल सरकारको आग्रह अनुसार वार्ताबाट शान्ती प्रक्रियामा आए पनि सरकारले गरेको सम्झौता कार्यान्वयन नभए पछि पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी चैत्रभित्र कार्यान्वयन गर्न माग गरेको हो ।
‘पार्टीले विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन गर्न पटक पटक ज्ञापन पत्र बुझाए पनि अहिले सम्म कुनै बुदा कार्यान्वयन भएको छैन । हाम्रो पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै छन, शहिद परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् ।’ पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले भने ।
सरकारसँग भएको सम्झौता अनुसार आफूहरुले मधेशमा शान्तिपूर्ण ढङ्गले राजनीति अगाडि बढाई दर्ता गरेर प्रत्यक्ष राजनीतिमा आउन खोजे पनि सम्झौता कार्यान्वयन नहुँदा समस्या भएको बताए ।
'करिब एक दर्जन बढि कार्यकर्ता अझै हिरासतमा छन्, रिहा नभएकाले यथाशिघ्र रिहाइको माग गर्दै आफूहरुले मधेशमा शान्तिपूर्ण ढंगले राजनीति अगाडि बढाउन खोजेका छौ ।' मेजरले भने ।
त्यस्तै नेता कार्यकर्तामाथि विचाराधीन मुद्दा भएको भए नचलाउन समेत सो पार्टीले सरकारलाई आग्रह गरेको छ ।
'सम्झौतामा उल्लेख भए अनुसार हामीले एकपक्षिय रुपमा उक्त सम्झौताको पूर्ण कार्यान्वयन गर्यौं तर सरकार सम्झौता कार्यान्वयनमा चुकेको महशुश गरेका छौं,' मेजरले भने ।
यसका साथै पार्टीले मेचीदेखि महाकालीसम्म गर्ने कार्यक्रममा सरकारले शान्ति सुरक्षाको लागि गृह मन्त्रालयबाट लिखित प्रमाण समेत माग गरेको छ । २०७१/०७२ सालमा आफूसँग भएको एक सय ३२ वटा हतियार प्रहरीलाई बुझाएको दावी गरेको छ ।
उनले तराई मधेश र मुलुकको आर्थिक सम्बृद्धिलाई केन्द्रमा राखि पार्टीले संघ र प्रदेशमा राजनीतिक सभा, समारोह तथा संगठन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने केन्द्रिय समितीको निर्णय बमोजिम आफूहरु भूमिगत जीवन बाट खुला रुपमा बाहिर निस्केको बताए ।
'हाम्रा कतिपय कार्यकर्तामाथि अझै पनि मुद्दा लागेको छ, फरार सुचिमा रहेका उनीहरु शान्तिपूर्ण रुपमा बस्न नपाएर देशबाहिर रहेका छन्,' उनले भने । चैत्र मसान्त भित्र सम्झौता अनुसारको माग सम्बोधन नभए संघर्स र शान्ति पूर्ण आन्दोलनमा जाने सचिव पाण्डे बताए ।