काठमाडाैँ- प्रतिनिधिसभा बैठक केहीबेर बसेर स्थगित भएको छ। मंगलबार दिउँसो बसेको बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरु तोकिएको छ। बैठकले सभामुखको अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयलाई मनोनयन गरेको हो। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको बताइएको छ।
आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित थिए। यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ।