काठमाडाैँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले बोलाएको भेलामा नजान कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। आफूले मंगलबार वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा ओलीले भने ‘भोलिको भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु । सजग र सचेत गराउन चाहन्छु ।’
प्रधानमन्त्रीले आफूले आयोजना गरेको चियापानमा केही मान्छे नआएको भन्दै कसको चियापानमा जानुहुन्छ भन्दै प्रश्न गरे। ‘पार्टी अध्यक्षले बोलाउँदा नआउने कसको निम्ता पाए चियापानमा जानुहुन्छ? यो त सबैलाई थाहा छ तर भन्न भएन । अझै केही समय बाँकी छ ।’ उनले भने ‘भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न त्यो तमासा हेर्न बाँकी छ । भोलि एक नजर त्यता लगाइन्छ ।’
ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए। उनले कामै गर्न नदिएपछि ससद विघटन गरेकाे भन्दै पुन स्थापना भएपछि पनि सुरुकै दिनबाट अवराेध भएकाे उल्लेख गरे। ‘ संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो। तर सुरूको दिन नै अवरोध गरियो। सभामुखले नै अवरोध गरे। एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो। त्यो पनि पेश हुन दिइएन्, उनले भने, ‘केही मानिसले राष्ट्रिय राजनीति नै होँडलेर असहज अवस्थामा पुर्याए।’ उनले संसद्लाई जनताका मागहरू सम्बोधन गर्ने थलो बनाउन प्रयासरत रहे पनि संसद्लाई त्यसरी चल्न नदिएको बताए।