काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै छ।
पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे भेट हुन लागेको हो । सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको छैन।
एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए।
भेटको लागि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएका थिए। तर नेता नेपालले बालुवाटार नजाने भनेपछि धुम्बारायीमा भेट हुन लागेको हो । भेटमा दुबै पक्षका केही नेता पनि सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेपाल पक्षका केही नेताहरूको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ। नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गरेको छ ।
आइतबार साँझमात्रै नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गरी ओलीकाे कदमकाे विराेध गर्दै एमाले पुनर्गठन गर्ने जिम्मेवारीमा संलग्न हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।