काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल खेमाले निर्वाचन आयोगलाई पत्र पठाएको छ । सो खेमाका ११ जना स्थायी कमिटी सदस्यहरुको हस्ताक्षरसहित उनीहरु आयोग पुगेका हुन् ।
आयोगमा १०३४ नम्बरमा दर्ता भएको पत्रमा पार्टी विधानको धारा ४१ मा पार्टी विभिन्न कमिटीका बैठकहरुको आयोजना हुनुपर्ने भएकाले बैठक नै नबोलाइ गरिएका निर्णय विधानअनुकूल ठहर नहुने उल्लेख छ ।
“वैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि काम कारवाही नेकपा एमालेको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पुर्याउने र अवैधानिक ठहर्छ,” आयोगलाई लेखेको पत्रमा भनिएको छ, “हामी निदवेकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइ राख्न दृढ संकल्पित भएकोले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णयलाई आयोगमा विवरण सच्याउन माग भई आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ ।”
उनीहरुले गुटविशेषका निर्णयलाई वैधता नदिन माग गरेका छन्। स्थायी कमिटीका ११ सदस्यहरुले हस्ताक्षर गरेको दुईपाने पत्रमा भनिएको छ-"पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् । सर्वोच्च अदालतको फैसलाबाट झन्डै तीन वर्षपश्चात् नेकपा (एमाले) यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरु क्रमशः आयोजना गरी आफुलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ।"