बुटवल– यही माघ ६ गते बलदेव शर्मा पोखरेलको निधन भयो । पोखरेलको निधन भएपछि प्रदेश ५ प्रदेश सभाको एक सदस्य पद रिक्त भएको छ ।
पोखरेल नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए । समानुपातिकतर्फ खस आर्य समूहको पुरुष तर्फबाट प्रदेश सभामा पुगेका हुन् ।
नेपालको संविधानको धारा १७६ को उपधारा (८) मा “प्रदेश सभाको कार्यकाल छ महिना भन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने छ ।” भनेर उल्लेख छ ।
प्रदेश ५ को प्रदेश सभामा खस आर्यको पूरुष तर्फ ५ जना समानुपातिकको सूचीमा रहेका थिए । त्यसमध्ये बलदेव मात्र प्रदेश सभामा पुग्न पाए । समानुपातिकको सूचीमा सोही समुह तर्फ बलदेव शर्मा पछि शंकर गिरीको नाम रहेको छ । त्यसैले प्रदेश सभामा दाङका शंकर गिरी पुग्ने छन् ।
नेपाली कांग्रेसको ५ नम्बर प्रदेश सभाको समानुपातिक उमेदवारको सूचीमा ८ नम्बरमा बलदेव शर्मा पोखरेलको नाम रहेको छ भने ९ नम्बरमा शंकर गिरीको नाम छ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीले संसदमा समानुपातिक तर्पmको सदस्य पद रिक्त भएमा त्यही समुह र क्रम अनुसार सदस्य चयन हुने बताए । ‘त्यही समुह, त्यही क्लस्टर, त्यही क्रम अनि त्यही प्रक्रिया कार्यान्वयन हुन्छ ।’–उनले भने–‘अन्तिम बन्द सूचीमा उहाँ (बलदेव) पछिको क्रम जसको छ, उसैले प्रदेश सभा सदस्य हुन पाउँछ ।’ त्यसैले कांग्रेसभित्र गिरीलाई सांसद् नबनाउन चलखेल भएर प्रदेश सभा सचिवालयबाट निर्वाचन आयोगमा चिठी नजाँदै सूचीमा फेरबदल गरेमा भने गिरीलाई कठिन हुनसक्छ । कांग्रेसले कुनै चलखेल नगरेमा दाङका शंकर गिरी सांसद हुने निश्चित छ । तर त्यसका लागि केही प्रक्रिया पार गर्नुपर्छ ।
प्रदेश सभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४७ मा प्रदेश सभा सदस्यको पद रिक्त भएमा अर्को सदस्य मनोनयन गर्ने व्यवस्था यसरी उल्लेख छ ।
(१) समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित कुनै सदस्यको मृत्यु भई, राजीनामा दिई, दल त्याग गरी वा अन्य कुनै कारणले पद रिक्त भएमा प्रदेश सभाको सचिवालयले आयोगलाई जानकारी गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पद रिक्त भएको जानकारी प्राप्त भएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउन सात दिनको समय दिई जानकारी गराउने छ ।
(३) उपनियम (२) बमोजिमको जानकारी प्राप्त भएपछि सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेदवारको बन्दसूचीमा कायम रहेको अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम दलले उम्मेदवार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको सदस्यको पद रिक्त भएको हो उपलब्ध भएसम्म सोही समावेशी समूहको उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम दलले मनोनयन गरी पठाएको उम्मेदवारलाई आयोगले सदस्य पदमा निर्वाचित भएको घोषणा गर्नेछ ।
यी प्रक्रिया पार गरेर खस आर्यको समूहबाट पुरुष तर्फ शंकर गिरी प्रदेश सभा सदस्य बन्ने छन् ।
को हुन् शंकर गिरी
२०७० सालको संविधान सभाको निर्वाचनमा पनि शंकर गिरीको नाम समानुपातिक सूचीमा थियो । तर संविधान सभामा प्रवेश गर्न पाएनन् । २०७४ सालको चुनाबमा प्रदेश सभा तर्फ समानुपातिक सूचीमा रहेपनि २ वर्ष पछि मात्र प्रदेश सभा प्रवेश गर्न पाउँदैछन् ।
३ कार्यकाल नेपाली कांग्रेसको दाङ जिल्ला सचिवको रुपमा रहेका गिरी बाह्रौ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका हुन् । खुमबहादुर खड्काको प्रभाव मानिएको दाङमा उनी भने खुमबहादुर इतर समूहका व्यक्तिका रुपमा परिचित छन् ।
पार्टीको नवौं महाधिवेशनदेखि निरन्तर रुपमा महाधिवेशन प्रतिनिधिको रुपमा रहेका छन् भने बेला बेलामा महासमिति सदस्य पनि भए ।
खुमबहादुर खड्काको प्रभाव मानिएको दाङमा उनी भने खुमबहादुर इतर समुहका हुन् । ‘दाङमा खुमबहादुरको धार र अर्को तिर मेरो धार थियो ।’–गिरीले लुम्बिनी टाइम्ससँग भने –‘म त्यसैको सिकार भएको हुँ ।’ अहिले भने पार्टीका शीर्ष नेताहरुले सांसद बनाउने आश्वासन दिएको उनले बताए ।
पार्टीको नवौं महाधिवेशनदेखि निरन्तर रुपमा महाधिवेशन प्रतिनिधिको रुपमा रहेका छन् भने बेला बेलामा महासमिति सदस्य पनि भए । १६ वर्षको उमेरमा २०२७ सालमा तुल्सीपुरको राप्ती अञ्चलका अञ्चलाधीश परिसरमा कालो झण्डा गाडेर गिरीले राजनीतिको सुरुवात गरेका हुन् । २०३१ सालमा नेपाली कांग्रेसले हतियार उठाउँदा उनी पेस्तोल सहित गिरफ्तार भएका थिए । २०३६ सालमा बहुदल प्रचार समिति दाङको सचिव रहे । २०३८ सालको निर्वाचन बहिस्कार र ०४२ सालको सत्याग्रहमा उनी जेल परेका थिए । २०४० सालमा पार्टीको राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य भए । शिक्षण पेशामा पनि रहेका शंकर गिरी १० वर्ष दाङको अमर मावि उरहीमा प्रधानाध्यापक थिए । प्रधानाध्यापकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीति गर्न थालेका हुन् ।