बुटवल- लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समिकरण लगायतका विषयमा अरु दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ। कांग्रेस प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा विरबहादुर राना र रमा अर्याल सदस्य छन्। सवोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युत्याउने गरी फैसला गरेपछि लुम्बिनी प्रदेश सरकारको समिकरण पनि बदलिन सक्ने भएको छ। फागुन २३ गते आएको नेकपा सम्बन्धिी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरुसँग छलफल गर्न कार्यदल बनाइएको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले जानकारी दिए।
कार्यदलले प्रदेशको स्थायित्व, दिगो विकास, संघियताको सफल कार्यान्वयन एवं समसामयिक राजनीतिक विषयमा अन्य दलसँग छलफल तथा परामर्श गर्ने उनले बताए। कार्यदलका संयोजक फखरुद्दिन खानले शुक्रबारबाट अन्य दलसँग छलफल सुरु गर्ने जानकारी दिए।