काठमाडाैँ- १४ जना बहालवाला तथा पूर्व सदस्यको शोक प्रस्ताव पारित गरि प्रतिनिधि सभाको बैठक चैत्र ३ गतेसम्मको लागि स्थगित भएको छ। पुनस्थापनापछि बसेको प्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव मात्र पारित गरि स्थगित भएको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्यहरु सानु शिवा, सूर्यबहादुर केसीसँगै संविधान सभाका सदस्य रहेका मानपुर चौधरी र भीमप्रसाद गौतमको शोक प्रस्ताव पारित गरिएको हो।
त्यस्तै पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेतीको शोक प्रस्ताव पनि पारित भएको हो।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट विघटन भएको प्रतिनिधि सभा फागुन ११ गते सर्वोच्च अदालतको फैसलाबाट पुनस्थापित भएको थियो । पुनस्थापित भएपछि फागुन २३ गते पहिलो बैठक बसेको थियो ।
तर बैठक अवरोध भएपछि आज बसेको बैठकले १४ बहाल तथा पूर्वसदस्यको शोक प्रस्ताव पारित गरेको हो।