बुटवल । बुटवलस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड झुण्ड्याइएको छ । बुटवल वडा नं. ८ सुख्खानगरस्थित यसअघि नेकपा प्रदेश कार्यालयको रूपमा सञ्चालन गरिएको थियो ।
सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँतिएपछि देशका विभिन्न स्थानमा रहेका नेकपा पार्टी कार्यालयमा एमाले आफ्नो बोर्ड टाँग्न सुरू गरेको छ ।
एमालेको बोर्ड झुन्ड्याउन पूर्वमाओवादीको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित दधिराम न्यौपाने, एमाले नेताहरू भोजप्रसाद श्रेष्ठ, प्रदेश कार्यालय सचीव बलराम अधिकारी, भूमिश्वर ढकाल लगायत पार्टी कार्यालय पुगेका थिए।
भवनमा झुण्ड्याइएको नेकपा प्रदेश कार्यालयको बोर्ड हटाएर एमाले लुम्बिनी प्रदेश कार्यालयको बोर्ड झुण्ड्याइएको एमाले बुटवल नगर अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए। एमाले कार्यकर्ताहरूले कार्यालयमा नयाँ झण्डा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको नयाँ बोर्ड टाँगेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा निर्माण गरिएको तीन तले उक्त भवनलाई तत्कालीन अवस्थामा एमालेले लुम्बिनी अञ्चल पार्टी कार्यालयको रूपमा सञ्चालन गर्दै आएको थियो।