काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा रहेको बताएका छन्। उनले विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गरे। पार्टी कार्यालय पेरिसडाँडामा आइतबार विप्लव नेकपाका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले विप्लवलाई पनि पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको बताएका हुन्।
‘उहाँ (विप्लव) अन्ततः पार्टीको बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा उहाँलाई पनि म धन्यवाद भन्न चाहनछु’ उनले भने ‘यस्तै कार्यक्रममा उहाँलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको घोषणा गर्दछु।’
अध्यक्ष प्रचण्डले आफूले विप्लवलाई राम्रोसँग चिनेको बताउँदै उनी अन्ततः नेकपामै आउनै पर्ने बताए। उनले आफूहरु नेतृत्वको नेकपा केन्द्रीय समितिको संख्या, संसदीय दल, देशभर भएको आन्दोलन आदिका हिसाबले मूलपार्टी प्रमाणित भइसकेको बताए।