बुटवल । नेपाल सरकारका अर्थमन्त्री यसअघि जस्तै दुई दिनका लागि रुपन्देही अर्थात् आफ्नै निर्वाचन क्षेत्र रहेको जिल्ला आएर फर्किएका छन् । शिलान्यास र उद्घाटनका ‘आइटिनररी प्याकेज’ बोकेर बिहीबार उनी भैरहवा विमानस्थल ओर्लिएका थिए, यसअघि जस्तै ।
शुक्रबार उनका लागि तीन मुख्य कार्यक्रम तय थियो । भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा सकेपछि दिउँसो बुटवल उपमहानगरपालिका वडा नं १७ मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम थियो । जुन यहाँका उद्योगीहरुका लागि बहुप्रतिक्षित थियो । भैरहवा जानुअघि बिहानै देवदहमा उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको डिन कार्यालयको उद्घाटन गरिसकेका थिए ।
औद्योगिक क्षेत्रको शिलान्यास गरेपछि काठमाडौं फर्किहाल्ने उनको योजना थियो ।
त्यसैले उनी शिलान्यास स्थलतर्फ आइरहेका थिए । तर, शिलान्यास स्थलको वातावरण हेर्दा लाग्थ्यो, यहाँ कुनै मन्त्रीको प्रतिक्षा भइरहेको छैन बरु मन्त्रीलाई कार्यक्रमस्थलमा जानबाट रोक्ने प्रयत्न भइरहेको छ ।
कार्यक्रम स्थलमा निकै भीड थियो । भीडले अर्थमन्त्री पौडेल र औद्योगिक क्षेत्र निर्माण गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका बिरुद्ध चर्को नाराबाजी गरिरहेका थिए । लाग्थ्यो, औद्योगिक क्षेत्र निर्माण भएमा यहाँका स्थानीयले धेरै कुरा गुमाउनु पर्ने थियो त्यसैले उनीहरु ‘जसरी पनि शिलान्यास रोक्नै पर्ने’ स्थितीमा छन् ।
वन र वस्ती बीचको क्षेत्रमा झझिकाउ पारिएको कार्यक्रमस्थललाई सुरक्षाकर्मीले चारैतिर घेरा हालेका थिए । उनीहरुको काम बिनाकुनै दंगा स्थानीयलाई सुरक्षा घेरामा नै सिमित पार्नु थियो ताकि भित्र ‘सौहार्द’ वातावरणमा औद्योगिक क्षेत्रको शिलान्यास सफल हुन सकोस् ।
सुरक्षा घेराभन्दा बाहिर स्थानीयको भिड जम्मा हुँदैं थियो । उनीहरुले विष्णु पौडेल र अरु मन्त्री, नेताहरुको विरोध गरिरहेका थिए।
वस्तीबाट कार्यक्रमस्थल जाने सानो गोरेटो छेकेर १०–१५ जना महिलाहरु बसिरहेका थिए। उनीहरुको ठीक पछाडि सुरक्षाकर्मीको लाइन थियो ।
छेवैमा रातो सारी र केही मैलो ब्लाउज लगाएर सारीकै सप्कोले मुख थुनेर एक महिला बसिरहेकी थिइन् । उनी शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीकी जमुना परियार हुन् । लालपुर्जा आउला र आफ्नै नामको घडेरीमा बस्न पाइएला भनेर आसामा बस्दाबस्दै भएको घडेरी पनि औद्योगिक क्षेत्रले लैजाने भएपछि उनी विरोध गर्न त्यहाँ आएकी थिइन् । उनका श्रीमान पनि त्यहिँ भिडमा नारा लगाइरहेका थिए ।
‘हाम्रो त्यो घडेरी २२ साल(२०२२)देखि त्यहाँ छ । अरु जग्गा जमिन केही पनि छैन । त्यो पनि उद्योगले लगिसक्यो भन्छन् के रे ! रातीमा आएर नापेको हो । हाम्रो बालबच्चाहरु त्यही हुर्काइयो, पढाइयो । हाम्रो जे भने पनि त्यति मात्रै हो ।’ उनले भनिन्–‘तर हामीलाई त्यहाँबाट धपाउन लागियो रे ! कहाँ गएर बस्ने हो त खोई ? ।’
उनले यसो भन्दै गर्दा पछाडि बसेकी अर्की महिलाले केही चर्को स्वरमा बोलिन्–‘हामीलाई नसोधी यहाँ औद्योगिक क्षेत्र बनाउन खोजिएको छ यो हामीलाई स्वीकार्य छैन।’
उनी शुद्धोधन गाउँपालिका वडा नं ३ कै शोभा सुनार रहिछन् । उनले थपिन्–‘हामीसँग जग्गाको सबै कागज छ । बेतहीमा भाषण गर्दै जग्गाको लालपुर्जा पाउनुहुन्छ, भनेका थिए तर अहिले किन यस्तो भयो।’
‘लालपुर्जा दिने हो अरे भनेर हाम्रो जग्गाको कित्ता नं छुट्याइयो । त्यहाँका नेताहरुले हामीबाट सबै कागजात लिए । हामीले पैसा तिरेर गाउँपालिकामा फर्म पनि भर्यौँ । उनीहरुलाई नै भोट पनि हालियो । जिताइयो पनि । फर्म भरेपछि लाल पुर्जा पाउँछौं भनेर पाँच बर्ष कुर्यौं । तर, अहिले त जग्गा नै हाम्रो छैन रे !’ शुद्धोधनकै शान्तिदेवी विटालुले भनिन्–‘हामीले जग्गा कुरेरैं बस्यौं, तर अब कहाँ जाने ?’
महिलाको झुण्डभन्दा अघिल्तिर एक अधबैंशे पुरुषले भिडलाई मिलाइरहेका थिए । उनको नाम टिकाराम पौडेल रहेछ । उनले ती महिलाको कुरा सुनेपछि आफ्ना कुरा सुनाए,‘हामीले सरकारको विरोध गरेका होइनौं न त हामी विकास विरोधी नै हौं । तर वास्तविक कुरा के हो भने हामीलाई थाहा नै नभई हाम्रो जग्गा उद्योगलाई गइसकेको छ ।’
शुद्धोधन गाउँपालिका–३ का सखुवानी, बेतही र बेतहानीमा २ सय घर र करिब ३ सय जनाको खेत सहित १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा परेको यहाँका स्थानीयले आरोप लगाउँदै आएका छन् । यो समस्या नसुल्झाई शिलान्यास गर्न लाागिएकाले स्थानीयहरु आफ्नो वसोबास नै उठ्ने हो कि भनेर सशंकित बनेका हुन् । बिहीबार पनि दुई सयजना जतिले शिलान्यास कार्यक्रमका लागि बनिरहेको मञ्च भत्काइदिएका थिए ।
टिकारामले सहमतिबेगर ‘हाम्रो जग्गा उद्योगले लैजान थालेपछि बिरोधमा उत्रनुपरेको’ बताए । ‘२०७२ साल असार २४ गते हाम्रो टोल भवनमा बैठक बसेको थियो । बैठकले २ सय ३८ विगाहामा उद्योग राख्न दिने निर्णय गरेको थियो, त्यो पनि नदी उकासको जग्गामा ।
त्यसमा जोतभोगका जग्गा छोडेर चालिस प्रतिशत जग्गा स्थानीयका लागि सार्वजनिक स्थल र बाँकी रहेको जग्गामा उद्योग राख्ने भनेर सहमति भएको हो । त्यतिबेला नापी विभाग, उद्योग संघ, सिडियो कार्यालयबाट पनि सरहरु उपस्थित हुनुहुन्थ्यो’-उनले भने ।
हरिहरपुरमा एक कठ्ठा रहेको जमिन ‘विनाकुनै जानकारी औद्योगिक क्षेत्रमा गाभिने’ भएपछि उनी विरोध गर्न त्यहाँ आएका रहेछन् ।
यतिबेलासम्म कार्यक्रमस्थलमा भीड निकै बढेको थियो । स्थानीयले असिन–पसिन भएर नारावाजी गरिरहेका थिए । सुरक्षा घेरादेखि करिब १०० मिटरकै दूरीमा सजिसजाउ मञ्च थियो, जसमा यतिबेला चहलपहल शून्यप्रायः थियो ।
केही पत्रकार, सरकारी कर्मचारी, केही जनप्रतिनिधि र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केही कर्मचारी बाहेक स्थानीयको उपस्थिति नगण्य थियो । यसैबीच आए मन्त्री विष्णु पौडेल ।
उनीसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, प्रदेश सरकारका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ लगायत स्थानीय नेताहरु आएका थिए । उनीहरु कार्यक्रमस्थलमा आउँदासम्म स्थिति तनाबग्रस्त बनेको थियो ।
केही स्थानीयले मन्त्री तथा नेता सवार गाडीहरुमा पानीका बोतल र ढुँगा फ्याँक्न भ्याए । तर, बदलामा सुरक्षाकर्मीहरु सुरक्षा घेरा जतिसक्दो फराकिलो बनाउन प्रयासरतः थिए ।
बाक्लो सुरक्षा घेराले भीडको थमौती गरेपछि मन्त्री तथा नेताहरु मञ्चमा त आए तर, उनीहरु बिरूद्ध ‘मुर्दावाद’का नाराहरू चलिरहेका थिए ।
हतार हतार नेताहरु मञ्चको दाइने छेवैमा रहेको शिलान्यास स्थलतिर लागे । शिलान्यासको काम सुरु भयो ।
उता सुरक्षाकर्मीसँग आम्नेसाम्ने रहेका स्थानीयहरु झनै आक्रोशित देखिन्थे । अर्थमन्त्रीले औद्योगिक क्षेत्रको शिलान्यास गरे । शिलान्यास सकियो । मन्त्री तथा नेताहरु फेरि मञ्चमा गए ।
कार्यक्रममा मन्त्री लेखराज भट्ट बोल्दाबोल्दै स्थानीयले सुरक्षा घेरा तोड्छन् कि झैं गरिरहेका थिए । मञ्चतिर अघि बढ्न भिडले निकै कोसिस गरेको थियो ।
आक्रोशित भिडले मञ्चको पछाडि र दाइनेपट्टि सुकेका खरमा आगो लगाए । सुरक्षाकर्मीलाई भिडको आक्रोसलाई व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो ।
बोलेर सकेपछि मन्त्री भट्ट बसे, मन्त्री पौडेल उठे । अर्थमन्त्री पौडेलले विकास र औद्योगिकीकरणको बारेमा केही मात्रै बोले ।
उनले औद्योगिक क्षेत्र आर्थिक विकासका लागि कति महत्वपूर्ण माध्यम हो भनेर बताइरहेका थिए । यत्तिकैमा मञ्चतिर ढुङ्गामुढा सुरु भयो । लाइन काटिएपछि माइकबिना कार्यक्रम अघि बढ्यो। कार्यक्रम समापन गरेर मन्त्री सहितको टोली फर्कियो।
दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रको निर्माण प्रक्रियामा किन त्यहाँका स्थानीयहरुले अपनत्व लिन सकेका छैनन् ? यसले औद्योगिक व्यवस्थापन लिमिटेड, जनप्रतिनिधि र विकासका पक्षपातीमाझ प्रश्न उठाएको छ।
स्थानीयलाई सहमतिमा ल्याउनुअघि नै औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भइसकेको छ । अहिले आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको प्रक्रियामा छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने औद्योगिक क्षेत्रको निर्माण सम्पन्न गरेरै छाड्ने दावी गरे । मन्त्री तथा नेताहरुले कार्यक्रमस्थल छाडेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने–‘आयोजना त मैले गरेँ गरेँ । यसमा सरकार ब्याक हुँदै हुँदैन । मोतीपुरको जनताको स्वागत छ ।’
उनले थपे–‘उहाँहरु(स्थानीय)को समस्याहरु हामीले सुन्छौं । उनीहरुको विस्तृत डाटा आओस् । त्यसपछि कि हामीले कि सुकुम्बासी आयोगले समाधान गर्छ । तर, यो बिरोध गर्ने, मञ्च भत्काउने, ढुँगामुढा गर्ने जस्ता क्रियाकलापले उहाँहरुलाई झनै सुकुम्बासी बनाउँछ ।’
उनले ५ महिना भित्र मुआब्जाको समस्या समाधान हुने र ६ महिनाभित्र काम सुरु गर्ने दावी गरे । आजको कार्यक्रम सफल भयो कि असफल ? एक सञ्चारकर्मीको प्रश्नमा उनले भने–‘शिलान्यास हो यसलाई के भयो भन्नु । हामीले सफल ठानेका छौं । उहाँहरुसँग भोलिदेखि डायलग सुरु हुन्छ समस्या समाधान हुन्छ, पाँच बर्षभित्र निर्माण सम्पन्न गर्छौ ।’
किन विरोध प्रदर्शन भयो ?
विरोधको संकेत शिलान्यासअघि देखि नै थियो। स्थानीयले आत्मदाहसम्मका चेतावनी दिएका थिए। यसबीचमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समस्या समाधानको प्रयास गर्यो।
जुन सफल नभएको पुष्टि शिलान्यासका क्रममा भएको विरोधले गर्यो। योसँगै सो क्षेत्र विष्णु पौडेलको निर्वाचन क्षेत्रमात्रै नभई नेकपा नेपाल दाहाल समूहका नेता घनश्यास भुसालको क्षेत्र पनि हो।
भुसालले शिलान्यासको कार्यक्रम रोक्न भनेका थिए। कार्यक्रम रोक्न भनेर भन्दाभन्दै गरिएको कार्यक्रममा उनका केही समर्थकहरुको असन्तुष्टि त हुने नै भयो। अर्को कुरा, नेकपाको आन्तरिक किचलोले शिलान्यास कार्यक्रमलाई बिथोल्न सहयोग गर्यो।
त्यसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कमजोर पूर्वतयारी र स्थानीयका कुरा नसुनी अघि बढ्ने हठी प्रवृत्तिले काम गर्यो। नन्दकिशोर बस्नेतले विवाद समाधानका लागि फलदायी पहल गर्नुको सट्टा जबरजस्ती शिलान्यास गराउन अघि बढे।
उनले राजनीतिक नेतृत्वलाई समस्या कम र आफ्नो काम बढी देखाउने काम गर्न खोज्दा मोतीपूर तनाबग्रस्त बन्यो र नेकपा ओली पक्षका लागि हानिकारक बन्यो। जसको जसअपजसको भागिदार औद्योगिक क्षेत्र लिमिटेडका नन्दकिशोर बस्नेत र नेकपाको स्थानीय नेतृत्व पनि हुन्।
विकासविरोधीले आक्रमण गरे:पौडेल
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलमाथि औद्योगिक क्षेत्र शिलान्यासका क्रममा ढुंगामुढा र विरोध प्रदर्शन भएपछि उनले विकासविरोधी तत्वले आक्रमण गरेको बताएका छन् ।
शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं १७ मा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न कार्यक्रमस्थल पुगेका अर्थमन्त्री पौडेललाई असन्तुष्ट स्थानीयहरुले नारावाजी तथा ढुँगामुढा गर्दै विरोध गरेका थिए।
औद्योगिक क्षेत्रले ओगट्ने क्षेत्रको मुआब्जा दिन र आफ्ना माग पूरा गर्न माग गर्दाकै अवस्थामा शिलान्यास हुने खबरले स्थानीयलाई असन्तुष्ट पारेको थियो ।
विरोधकाबीच औद्योगिक व्यवस्थापन लिमिटेडले स्थानीयसँग सहमति नगरी सुरक्षाकर्मी परिचालन गरेर सुरक्षाघेरामा कार्यक्रम सञ्चालन गरेपछि स्थानीयले अर्थमन्त्री पौडेलविरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए ।
स्थानीयले वास्तविक कुरा नबुझी राजनीतिक व्यक्तिको स्वार्थका पछि लागेर नाराबाजी र प्रदर्शनमा उत्रिएको पौडेलले बताए । कार्यक्रम बिथोलिएपछि बुटवलमा छोटो पत्रकार सम्मेलन गर्दै पौडेलले बिकास बिरोधी तत्वले आक्रमण गरेको प्रतिक्रिया दिए ।
‘उहाँहरुले वास्तविक कुरा बुझ्नुभएन, कसैले उचालेकै भरमा उहाँहरु विरोध प्रदर्शनमा आउनुभयो, उहाँहरुले माग गरेअनुसार हामीले पुरा गर्छौं,’ कार्यक्रमस्थलबाट सिधा बुटवल आएर पत्रकार सम्मेलन गरेका पौडेलले भने–‘उहाँहरुले लालपूर्जा माग्नुभएको छ, उहाँहरुले लालपूर्जा पाउनुहुन्छ, यही सरकारले उहाँहरुलाई लालपूर्जा दिन्छ र उहाँहरुको समस्या समाधान गर्छ।’ उनले विकासको विरोध गर्नेहरु खुलेर आउन आह्वान गरे ।
’पर्दापछाडि को हुनुहुन्छ, उहाँहरुलाई खुलेर आउन म आग्रह गर्छु,’ उनले भने,‘उहाँहरुलाई म चुनौती दिन चाहन्छु कि विकास रोकेर देखाउनुस् ।’ पत्रकार सम्मेलनमा उपस्थित उद्योग मन्त्री लेखराज भट्टले देशभरका औद्योगिक क्षेत्रहरुको शिलान्यास भएको र छिटै काम अघि बढ्ने बताए। उनले विरोध भएका ठाउँहरुमा स्थानीयका माग पूरा गर्ने गरी तयारी अघि बढाइसकेको बताए।