काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट चाँडाे पारित गरेर कार्यान्यवनमा ल्याउनुपर्ने बताएका छन्।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संसदबाट एमसीसी पारित गराउन सभामुखको नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गरे। एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा चाँडै संसदमा राख्ने उनले बताए।
‘अब हामीले संसद्, सरकार र हरेक ठाउँबाट तीव्र गतिमा अगाडि बढाउनुपर्छ, अब बिलम्व गर्ने छुट हामी कसैलाई पनि छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘थुप्रै विधेयक पारित गरेर कानुन निर्माण गर्नुछ, प्रस्तावहरू पारित गर्नुछ। ६-७ वटा प्रधानमन्त्री पार गर्दै आएको एमसीसीजस्ता विषय पारित गर्नुछ। यस कार्यमा सभामुखज्यूको भूमिका नेतृत्वदायी रहने विश्वास व्यक्त लिएको छु।’
सभामुख चयनमा धेरै समय खर्चनुपरेको चर्चा गर्दै उनले अब संसद् र सरकारले आ–आफ्नो काममा तीव्रता दिनुपर्नेमा जोड दिए। संसदको हिउँदे अधिवेशनको केही समय खेर गएको भए पनि अब बाँकी कामहरू सहज ढङ्गले अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।
मुलुकको विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लागेको बताउँदै उनले अब बिलम्व गर्ने छुट कसैलाई पनि नभएको बताए।
‘हामीले बलिदानपूर्वक लडेर ल्याएको संविधान, त्यसअनुरुपको कानुन निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यतिखेर स-साना कुराहरू, आग्रह र अनावश्यक बहसहरूमा अल्झिनु उपयुक्त हुँदैन।’