बुटवल-नेकपा ओली पक्षका महासचिव विष्णुप्रसाद पौडेलले संसदमा अविश्वासको प्रस्ताव दर्ता हुँदैमा सरकार नढल्ने दाबी गरेका छन्।
गृहजिल्ला रुपन्देही आएका पौडेलले केही पत्रकारहरुसँग कुराकानी गर्दै केपी ओली नेतृत्वको सरकार नढल्ने बताएका हुन्। उनले बाँकी २ वर्षको कार्यकाल केपी ओली नेतृत्वकै सरकार चल्ने बताए।
उनले सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन प्रचण्ड र माधव नेपालहरु लागिरहेको भएपनि त्यो प्रयास निरर्थक हुने दाबी गरे।
उनले भने-उहाँहरुले पुस ५ गतेको अविश्वासको प्रस्ताव फिर्ता लिएर अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरुको प्रयास निरर्थक हुनेछ । जितेकाहरुले सरकार चलाउन नदिने माधव नेपालको मनोविज्ञान छ । हारेको ब्यक्ति प्रधानमन्त्री बनेको उहाँको इतिहास छ । अहिले पनि उहाँ त्यही धन्दामा हुनुहुन्छ ।'
उनले माधव नेपालको कडा आलोचना गर्दै केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई पहिलो पार्टी बनाएको कुरा माधव नेपाललाई चित्त नबुझेकोले कम्युनिष्ट आन्दोलन विभाजित गर्न लागिपरेको बताए।
'केपी ओलीले पहिलो पार्टी बनाउनुभयो । यो कुरा माधव नेपाललाइ मन परेन । त्यसैले उहाँले यो गतिबिधी गर्दै हुनुहुन्छ । हाम्रो कम्युनिस्ट आन्दोलनलाई बिभाजन गर्न लाग्नु भयो । उहाँले प्रचण्डले बिभाजन गर्न नसकेको र हिम्मत गर्न नसकेको काम मैले गरेँ भनेर जुन कुरा भन्दै हिड्नुभएको छ यो एकदम गलत छ-पौडेलले भने-'अहिले पनि नेकपा राष्ट्रिय राजनितिको नेतृत्व शक्ति हो र यो रहिरहन्छ । बाँकी दुई बर्षको कार्यकाल केपि ओली नेतृत्वको सरकाले नै नेतृत्व गर्छ ।'