काठमाडौँ – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच तीन बुँदे सहमति भएको छ ।
बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको हो ।
सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोली प्रमुख गृह मन्त्री रामबहादुर थापा बादल तथा विप्लव नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका हुन् ।
सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोह मार्फत सार्वजनिक गरिने जनाइएको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट सो पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन् ।
सरकार र विप्लव नेकपाबिच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको थियो । सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने थिए ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।