पाेखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने भन्दै ज्यान तलमाथि भए अन्यथा मान्न नहुने बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने उल्लेख गरे। ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ’, उनले भने, ‘ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला।’
ओलीले आफू नरहे पनि पार्टी र नेतृत्व रहेका कारण पार्टीको भविष्य अन्धकारमा नजाने उल्लेख गरे। ‘म रहिनँ भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ। देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन।’ उनले भने।
सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो। ‘विकासको बाटोमा तीब्र गतिले अगाडि बढेका छौं। त्यसैकारण देश, विदेशका तत्वहरू यस पार्टीलाई ध्वस्त पार्न कोशिस गरिरहेका छन्। लागेका छन्,’ उनले भने।