काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नाविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वाभाविक रूपमा लिएको बताएका छन् ।
शपथग्रहणपछि पत्रकारहरूसँगको कुराकानीमा सभामुख सापकोटाले आफ्नाविरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई स्वाभाविक रूपमा लिएको बताएका हुन् । सभामुख सापकोटाले लोकतान्त्रिक प्रक्रियामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताए । ‘‘यो लोकतन्त्र हो । लोकतान्त्रिक प्रक्रियामा चलिरहने प्रक्रियाको हो भनेर मैले यसलाई लिएको छु,’’ उनले भने ।
सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरूले विरोध जनाइरहेका छन् । सोमबार मात्रै सभामुख सापकोटाविरुद्ध प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सबै सांसदहरूको धारणा समेटेर अगाडि बढ्ने बताएका छन् । एमसीसीका विषयमा बाहिर बहस चलिरहे पनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए । ‘‘अहिले त भरखर सभामुख भएको छु । त्यो अध्ययन गर्नुप¥यो भित्र हेर्नुप¥यो । अहिले बाहिर बहस भइरहेको छ । ठीक छ मैले सुनिरहेको छु तर भित्र पसेर हेरेपछि मैले के हुन्छ भनेर भन्न सक्ने हो । मैले १७५ सांसदको भावना समेट्ने अधिकतम कोसिस गर्छु,’’ उनले भने ।
प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरे । शपथग्रहणपछि सबैको साझा भए पनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेटनु स्वभाविक भएको उनले बताए ।
संसदको मूल्य मान्यताअनुसारै आफूले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उहाँबाटै बधाई लिन चाहेको सापकोटाको भनाइ छ । ‘‘आज मैले शपथ ग्रहण गरें र आजबाट म सबैको साझा भएँ । योभन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो । संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट भेट सुरु गर्न खोजेको थिएँ । यो स्वभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।’’’